नेकपा वैठकः कार्यदलद्वारा एक साता समय माग, अध्यक्ष ओली कार्यदल विघटनको पक्षमा

काठमाडौं, ९ फागुन । तल्लो तहको कमिटी एकता गर्न गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ९ सदस्यीय कार्यदलले अन्तिम प्रतिवेदन तयार गर्न एक साताको समय मागेको छ ।

कार्यदलका संयोजक र सदस्यसहित बालुवाटारमा बसेको नेकपाको बैठकमा विभिन्न कारणले काम गर्न नसकिएको भन्दै कार्यदलले सचिवालयसँग एक साताको समय मागेको हो । बैठकमा कार्यदलले एक साताको समय मागेको र एक सातामा सुझाव एवं सिफारिससहित अन्तिम प्रतिवेदन तयार गर्ने प्रतिबद्धता व्यक्त गरेको कार्यदलका सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो ।

यता, कार्यदलले म्याद थप गर्ने विषयमा गरेको प्रस्तावमा विवाद भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यदल विघटन गर्ने प्रस्ताव अघि सार्दा बहुमत सदस्य त्यसको विपक्षमा उभिएका छन् । कार्यदलको म्याद थप गर्ने÷नगर्ने विषयमा भोलि बस्ने सचिवालयको बैठकले निर्णय गर्ने गरी बैठक स्थगित भएको छ ।

तल्ला कमिटी एकता गर्न नेकपाले गत पुष १२ गते ९ सदस्यीय कार्यदल बनाएको थियो । सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा गठित कार्यदललाइ १५ दिनको समयसीमा तोकेर संगठनात्मक एकताको प्रस्ताव तयार पार्ने कार्यादेश दिइएको भएपनि पूरा गर्न नसक्दा एकता प्रक्रियामा ढिलाई हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्