अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको करिव ५० प्रतिशत काम पूरा

काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना हालसम्म १८ किलोमिटर पूरा भएको छ । भारत बिहारको मोतीहारीदेखि नेपालको अमलेखगन्ज डिपोसम्म आइपुग्ने परियोजनाको ८० मध्ये १८ किलोमिटर पाइप बिछ्याउने काम सकिएको हो ।

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको कामले पछिल्लो समय केही गति लिएको छ । नेपाल आयल निगमका अनुसार बाराको पथलैयादेखि जीतपुर, जीतपुरदेखि परवानीपुर र वीरगञ्जको बाइपास क्षेत्रमा पाइपलाइन विछ्याइएको छ । काम सुरु भएको तीस महिनामा पूरा गर्ने योजना रहेको परियोजनामा पचास प्रतिशत काम सकिँदा लक्ष्यभन्दा धेरै प्रगति भएको निगमको दाबी छ ।

अहिलेकै गतिमा काम भए पाँच महिनामा पाइपलाइन तयार हुने दावी छ । सिमराको तौल मेसिनदेखि अमलेखगन्जसम्म र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा तत्काल पाइप विच्याउन सुरु गरिने आयोजनाले जनाएको छ । भारतको लिखित इन्फ्रास्ट्रक्चरले फागुन २५ गतेदेखि पाइप बिच्छ्याउन थालेको थियो । आयोजना पूरा भएपछि मोतीहारीबाट प्रतिघण्टा ३ लाख लिटर पेट्रोलियम पदार्थ निगमको अमलेखगन्ज डिपोमा आइपुग्ने छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ आयात हुन थालेपछि वार्षिक ७० करोड रुपैयाँ ढुवानी खर्च जोगिने छ ।

२०७२ भदौ ७ गते दुुई देशबीच भएको सम्झौताअनुसार ४ अर्ब ४० करोड लागतमा पूरा हुने आयोजनामा भारतको ३ अर्ब २० करोड र नेपालको १ अर्ब २० करोड रुपैयाँ लगानी हुने छ । पाइपलाइन बनेपछि नेपालले ५ वर्षसम्म भारतसँग इन्धन खरिद गर्ने सहमति छ । भारतले भने २५ बर्षको सर्त राखेको थियो । प्राविधिरुपमा संभव देखिदा नेपाल र भारतबीच अघिल्लो महिना चितवनसम्म पाइपलाइन विस्तार गर्ने सहमतिसमेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्