राजनीतिक दौडधुपबाट फुर्सदिला बनेका नेता पनि दसैंको रौनकमा

काठमाडौं, ३० असोज । हिन्दू नेपालीको मुख्य चाड दसैंमा राजनीतिक नेतृत्वको व्यस्तता केही कम हुने भएकाले उनीहरु परिवार र कार्यकर्तासँग दसैं मनाउँछन् । प्रधानमन्त्रीदेखि विभिन्न दलका नेताले यो दसैं कसरी मनाउँदै छन् त ?

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दशैंमा प्रधानमन्त्री निवास बालुवाटारमा नै कार्यकर्ता, शुभेच्छुकलाई टीका लगाइ दिने कार्यक्रम छ । ओली नवमीमा भने गृह जिल्ला झापामा हुनेछन् ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले यसपालिको दसैं टीकारहित भेटघाटमा काठमाडैंमै बित्ने छ । छोरा प्रकाश दाहाल बितेको वर्षदिन नपुगेकाले यसपालि दाहालले टीका लगाउने र लगाइदिने छैनन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदा झै यसपालि पनि काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा कार्यकर्ता र आफन्तजनलाई टीका लगाइदिने कार्यक्रम छ ।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौंमा निर्वाचन क्षेत्रका मतदाता, कार्यकर्ता र परिवारजनबीच दसैं मनाउँदै छन् । आफन्तलाई टीका लगाइदिने कार्यक्रम पनि छ ।

यस्तै, पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफन्तलाई घरमा बेलाएर टिका लगाइ दिने र समय मिलेमा काठमाडौं वरपरका डाँडाकाँडामा घुम्ने योजना बनाएका छन् ।

नेकपाका महासचिव विष्णु पौडेलले दसैं सपरिवार कास्की र स्याङ्जामा घुमघाम गरेर मनाउँदैछन् भने प्रवक्ता नारायणकाजी श्रेष्ठले चितवन, गोरखा र बर्दिवासका नेता÷कार्यकर्ताबीच दसैं मनाउने छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दसैंका बेला भारतको बद्रीकेदार तीर्थस्थल गएका छन् । जेठा ज्वाइँ बितेकाले टीका लगाउने कार्यक्रम छैन । कांग्रेस महामन्त्री शशांक कोइरालाको दसैं काठमाडौंमै बित्दै छ भने पूर्वमहामन्त्री प्रकाशमान सिंहको राजनीतिक भेटघाट, मठ–मन्दिरको दर्शन र आफन्तसँगको भलाकुसारीमा हुनेछन् ।

राप्रपाका अध्यक्ष कमल थापाले काठमाडौंमै दसैं मनाउँदै छन् भने राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाको दसैं भारतको दिल्लीमा बित्ने छ ।
राजपाका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरको दसैं महोत्तरीमा बित्दै छ । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो घटस्थापना यता धनुषामा छन् । उनले उतै नेता/कार्यकर्ताका दसैं मनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्