नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउनुपर्छः उद्योग वाणिज्यमन्त्री यादव

  • प्रकाश सिग्देल,

चितवन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् । शुक्रबारबाट भरतपुरमा सुरू भएको ‘सातौँ नेपालफर्मा तथा हेल्थ एक्स्पो–२०१९’ को उद्घाटन गर्दै मन्त्री यादवले भने, ‘नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउनै पर्छ ।’ सरकारको सोच र योजना पनि नेपाललाई औषधिमा आत्मनिर्भर बनाउनु नै रहेको भन्दै मन्त्री यादवले सबै मिलेर उत्पादन गर्न तर्फ अग्रसर हुनुपर्ने बताए ।

यसको लागि एक अर्काबीच आरोप प्रत्यारोपमालागेर कुनै फाइदा नहुने हुँदा सबैको एकता आवश्यक रहेको उनको भनाइ छ । सामाजिक उत्तर दायित्व अन्तर्गत मरणोपरान्त अंगदानको अभियानलाई संस्थागत गर्नको लागि एक्स्पो आयोजना गरिएको एक्स्पोका संयोजक नारायण बहादुर क्षेत्रीले बताए । अंगदानको अभियानलाई औषधि उत्पादकसंघले शहीदधर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँंग सहकार्य गरेको छ । एक्स्पो अवधिमा कम्तीमा १ हजार जनाले अंगदानगर्ने अपेक्षा गरिएको छ ।

फागुन १९ गतेसम्म चल्ने एक्स्पोमा ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० वटा भारतीय कम्पनीका साथै निजी क्षेत्रका १० वटा अस्पतालको सहभागिता रहेको छ । तीन दिनसम्ममा ५० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । एक्स्पो मार्फत औषधि उत्पादनबारे ज्ञान समेत लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्