उदयपुरमा उद्यमीलाई दिइएको सामाग्री गुणस्तरहिन

  • विश्वराज तामाङ

उदयपुर । उदयपुरका उद्यमीले घरेलु तथा साना उद्योग विकास समितिले उपलव्ध गराएको प्राविधिक सामाग्री फिर्ता गरेका छन् । आर्थिक वर्ष २०७४÷७५ मा वितरण गरेको प्रविधि गुणस्तरहिन रहेको उद्यमीहरुको आरोप छ । उपकरण खरिदमा अनियमितता भएको आशंका पनि गरिएको छ ।

गुणस्तरहिन सामाग्रीबारे उद्यमीले ६ महिना अघि नै घरेलु तथा साना उद्योग विकास कार्यालयलाई जानकारी गराएका थिए । तर, कार्यालयले सुनुवाई नगरेपछि दिक्क बनेका उनीहरु जिल्ला प्रशासनसम्म पुगे । जिल्ला प्रशासन कार्यालय उदयपुरले गठन गरेको छानविन समितिले सामाग्री दिन निर्देशन दिएको थियो । तर, कार्यालयले सुने नसुनै झै गरेको उद्यमीको गुनासो छ ।

गत आर्थिक बर्षमा मेडपा कार्यक्रमबाट सञ्चालित प्रविधि हस्तान्तरण कार्यक्रमबाट उदयपुरका ५० जना उद्यमीलाई सामाग्री हस्तान्तरण गरिएको थियो । उद्यमीका लागि ६० हजार मूल्य बराबरको सामाग्री वितरण गर्नु पर्नेमा बजारमा २५ देखि ३० हजारसम्म मूल्य बराबरको सामाग्री वितरण गरिएको खुलासा भएको थियो । यसबाट आर्थिक अनियमितता भएको उद्यमीको आरोप छ ।

उद्यमी सामाग्री फिर्ता गर्न कार्यालय पुग्दा कार्यालय प्रमुख शम्भु साह भाग्न खोजेका थिए । न्यूज २४ टेलिभिजनको टोली कार्यालय पुगेपछि उनी कार्यालयमा रहे ।

उद्यमीलाई दिइने सामाग्रीमा भएको चलखेलको छानविन हुनुपर्छ । भ्रष्टाचार न्यूनिकरणका लागि पनि सरोकारवाला निकायले चासो दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्