के हो मस्तिष्कघात ? यसका लक्षण तथा बच्ने उपाय –

काठमाडौं। मस्तिष्कको कार्यक्षमतामा अचानक आएको ह्रासलाई चिकित्सकीय भाषामा मस्तिष्क घात भनिन्छ। मस्तिष्क घात भएका अधिकांश बिरामीलाई पक्षघात पनि हुने हुँदा यो रोगलाई पक्षघात, प्यारालाइसिस, लकुवा जस्ता नामले पनि सम्बोधन गरिन्छ।

मस्तिष्कमा रक्त प्रवाहमा अवरोध भएपछि उत्पन्न हुने समस्या नै मस्तिष्कघात हो । रगत प्रवाह रोकिने बित्तिकै मस्तिष्कका कोशिकाहरुमा अक्सिजन प्रवाह हुन सक्दैन र मस्तिष्कका तन्तुहरु मर्न थाल्छ । समयमै उपचार गरिएन भने बिरामीको मृत्यु समेत हुने गर्छ ।

डाक्टरहरूका अनुसार मस्तिष्कघात हुँदा ५० प्रतिशत मानिसको मृत्यु तुरून्तै हुन्छ भने ५० प्रतिशत अस्पताल आइपुग्छन् । अस्पताल आइपुगेकामध्ये ५० प्रतिशतलाई बचाउन सकिन्छ । ब्लडप्रेसर भएका ३० देखि ३५ प्रतिशतलाई ब्रेन एट्याक हुनसक्छ ।

चिकित्सकीय हिसाबमा मस्तिष्कघातलाई दुई भागमा विभाजन गरिएको छ । पहिलो रगतका नशा बन्द भएर हुने मस्तिष्कघातलाई इन्फाक्सन र दोस्रो रगतका नशा फुटेर हुने ब्रेन ह्यामरेज ।

रगतका नशा बन्द हुँदा हुने मस्तिष्कघात

अधिकांश व्यक्तिहरुमा यो अस्वस्थकर जीवनशैलीका कारण नै निम्तिने समस्या हो । यो समस्या आएका व्यक्ति काम गर्दागर्दै ढल्छ । धूमपान, मोटोपन, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक तनाव, बढी चिल्लो नुनिलो र तारेको खानेकुराको प्रयोग, व्यायाम नगर्नेहरुमा यो रोग लाग्ने सम्भावना अत्यधिक हुने वीर अस्पतालका न्युरो विशेषज्ञ डा. प्रकाश विष्ट बताउँछन् । उनका अनुसार रगतको नशामा चिल्लो पदार्थ तथा बोसो जमेपछि मस्तिष्कसम्म पुग्ने रक्तप्रवाहमा अवरोध हुन्छ र मस्तिष्कघात हुन पुग्छ ।

रगतको नशा फुटेर हुने ह्यामरेज

नशा फुटेर हुने एट्याकको प्रमुख कारण ब्लडप्रेसरको औषधिमा गरिने लापरबाही नै हो । यस्तो समस्या विशेषगरी युवामा देखिने गरेको पाइन्छ । डा. पन्तका अनुसार हृदयघातभन्दा ब्रेन एट्याक झन् बढी खतरनाक समस्या हो । हृदयघातको समयमै अस्पताल पुर्याएर उपचार गर्न सकियो भने मानिस पुरानै अवस्थाको जीवन बाँच्न सक्छ तर बे्रन एट्याकमा शल्यक्रियापछि पनि पुरानै अवस्थामा फर्किन सकिन्न र केही न केही खोट भएको जीवन विताउनु पर्छ । ब्रेन एट्याकमा शरीरको निश्चित पाटो कमजोर रहने सम्भावना रहिरहन्छ । ब्रेन एट्याकले प्यारालाइसिसको सम्भावना समेत बढी हुन्छ । ब्रेन एट्याक भएकाहरुमा मुख बांगो हुने, हातगोडा नचल्ने, आँखा देख्न नसक्ने, बोल्न नसक्ने जस्ता समस्या देखिन्छ ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर हरेक वर्ष एक करोड ५० लाख मानिस मस्तिष्कघातको सिकार हुन्छन् । जसमध्ये ५० लाख मानिसको मृत्यु हुने गरेको छ भने ५० लाखभन्दा बढी पक्षघातका कारण शरीरको एउटा वा त्योभन्दा बढी भाग चलाउन नसक्ने अवस्थामा पुगेका छन् । तथ्यांकअनुसार बाँकी रहेका ५० लाखमध्ये १५ लाखभन्दा बढी उपचारपश्चात सामान्य जीवनमा फर्कन सफल भएका छन् । यस्तै, ३५ लाख हाराहारीका बिरामी भने सामान्य विकलांगताका साथ बाँचिरहेका छन् ।

मस्तिष्कघात जीवनमा अप्रत्याशित रुपमा हुने र तत्कालै ज्यान जान पनि सक्ने समस्या हो । समयमै उपचार पाएकाहरु सामान्य जीवनमा फर्कन सके पनि ढिलो गरी उपचारमा पुग्नेहरुमा शरीरको कुनै भागमा खोट रहने या पक्षघातजस्तो समस्याले सताउने भएकाले अरुको भरमा बाँच्नुपर्ने अवस्था आइरहेको छ ।

लक्षण

सामान्यतया मस्तिष्कघातले एकैपटक मानिसलाई आक्रमण गर्छ । तर, त्यो भन्दा पहिला मानिसलाई केही समय एउटा आँखा देख्न छाड्छ र केही समयपछि फेरि देख्न हुन्छ । त्यसैगरी केही समयका लागि एउटा पाटो नचल्ने हुन्छ र क्रमशः फेरि चल्न थाल्छ । केही समयसम्म यस्तो प्रक्रिया दोहोरिरहन्छ भने त्यो ब्ने एट्याकको स्पष्ट पूर्व संकेत हो । यस्तै अचानक सहनै नसक्ने गरी छुट्टै तरिकाले टाउको दुख्नु, रिंगटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, निदाउनु वा कमजोरी देखापर्नु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु, बोली लटपटिनु वा बोल्न नसक्नु, वान्ता हुनु, बेहोस हुन, प्यारालाइसिस हुनु मस्तिष्कघातका लक्षण हुन् ।

सावधानी तथा बच्ने उपाय

१, ४० वर्ष उमेर पुगेपछि नियमित रक्तचाप, मधुमेह, कोलेस्टेरोलको जाँच गराउने गरौं। जोखिम भएको पाइएमा यसलाई नियन्त्रण गर्न चिकित्सकको सल्लाहअनुसार औषधी खाऔं वा जीवनशैली परिवर्तन गरौं। औषधी सेवन गरी यी रोग नियन्त्रित भए पनि आफूखुसी औषधी खान छाड्ने नगरौं।
, धूमपान, मद्यपान, सूर्ति र नशालु पदार्थ सेवन नगरौं।
३, शरीरको तौललाई आफ्नो कदअनुसार नियन्त्रणमा राखौं।
४, नियमित हल्का व्यायाम गर्ने बानी बसालौ तर जोखिममा परेकाले भुलेर पनि कठिन व्यायाम गर्नुहुँदैन।
, स्वस्थ्यकर खाना खासगरी मसिनो मीठो भन्दा खस्रो मोटो खाना, हरियो सागसब्जी, फलफूल, रेसा र चोकरयुक्त भोजनलाई प्रश्रय दिऔं। तेल, घिउ, बोसो जस्ता चिल्ला पदार्थ कम खाऔं। भिटामिन इ युक्त पदार्थलाई खानामा अवश्य समावेश गरौं।
६, तनावलाई बाई–बाई गरौं। विश्रामलाई वेलकम गरौं। जोखिमपूर्ण जीवनशैली र व्यक्तित्व भएकाहरुले जीवनशैली परिवर्तन गरौं।
, चिसोबाट जोगिऔं, चिसोमा रक्तनलीहरु साँघुरिएर रक्तचाप बढ्न गई मस्तिष्क घातको समस्या ज्यादा देखिन्छ।
८, मष्स्तिक घातका जोखिम मानिने शारीरिक समस्या, जस्तै– नसाभित्रै रगत जम्ने रोग, मुटु तथा रक्तसञ्चारसम्बन्धी रोग, जस्तै– एट्रियल–फ्रिविलेसन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्वोसिस, एन्युरिजम, लेफ्ट भेन्ट्रिकुलार डाइलाटेसन जस्ता समस्या बेलैमा निवारण गर्नतिर लागौं।

प्रतिक्रिया दिनुहोस्