झापा गोल्डकपः हङकङ नेप्लिजलाई हराउँदै घरेलु टोली अन्तिम चारमा

  • राजु पाैडेल

झापा, २० फागुन । आयोजक झापा ११ जारी झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । पाहुनाटोली हङकङ नेप्लिज एकाडेमीलाई १—० गोलअन्तरले पराजित गर्दै झापा अन्तिम चारमा पुगेको हो ।

 बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार सम्पन्न प्रतिष्पर्धात्मक पहिलो क्वार्टरफाइनल खेलमा झापाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफको ४२ औँ मिनेटमा झापाका निशान्त खड्काको क्रसमा कप्तान कर्ण लिम्बुले हेड मार्फत् बललाई जाली चुमाए । घरेलु मैदानमा दर्शकको भरपुर समर्थन पाएको झापाले पहिलो हाफको सुरुवातदेखि नै हङकङलाई दबाबमा राखेको थियो ।

दोस्रो हाफमा पनि सोचेअनुरुपको खेल प्रदर्शन गर्न नसक्दा हङकङको अघिल्लो चरणको यात्रा समाप्त भयो । खेलमा निर्णायक गोल गर्न योगदान पु¥याउने झापाका निशान्त खड्का म्यान अफ दी म्याच घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । मंगलबार दुई विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्