हतियार उठाउनेहरुलाई प्रशासनिक तवरले कारवाही: पुष्पकमल दाहाल

  • तारा आचार्य

विराटनगर, २० फागुन । नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसंग असन्तुष्ट पक्षहरुसंग राजनीतिक वार्ता गरेरै समाधान गर्ने पक्षमा सरकार रहेको प्रष्ट पार्नु भएको छ । उहाँले हतियार उठाउने सम्मको कार्य भए प्रशासनिक तवरले कारवाही गर्न पनि सरकारलाई सुझाव दिनुभएको छ ।

सोमवार विराटनगरमा सञ्चारकर्मीसंग नेकपाका अध्यक्ष दाहालले शान्ति सम्झौताका क्रममा नै केही हतियारहरु चोरी भएको र हराएको जानकारी तत्कालीन सरकारलाई गरिएको बताउदै अहिले भेटिएका हतियारहरुलाई लिएर शान्ति सम्झौता माथि प्रश्न उठाउन नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले मुलुकमा अस्थिरता उत्पन्न गराउने कुनै पनि कार्य स्वीकार्य हुन नसक्ने र यसलाई सरकारले नियन्त्रण गर्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले सरकारले पछिल्लो समय आफ्नो गतिशीलता बढाएको र अझै बढाउदै लग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मन्त्रिमण्डल पुनर्गठन बारे प्रधानमन्त्रीसंग कुनै छलफल नभएको स्पष्ट पार्दै पार्टी एकता पनि चाँडै टुङ्गिने जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले पार्टी एकता हुन नदिन र अस्थिरता उत्पन्न गराउन विभिन्न कोणबाट प्रयास भईरहेको बारे आफुहरु जानकार रहेको बताउदै वर्तमान नेतृत्वले पार्टी एकतालाई सुदृढ गर्दै विकास, निर्माण र समृद्धिको सपना पूरा गरेर छाड्ने धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहाल श्रीमती सीता दाहाल सहित पारिवारिक भेटघाटका लागि विराटनगर आउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्