एक नेपाली ठिटो : जो सूर्याेदयको देशमा बसेर नेपालको नाम चम्काउदैछ

काठमाडौं । सूर्योदयको देश जापानमा एक नेपाली खेलाडी यसरी उदाउदैछन् , जस्को उदय नेपाली खेल क्षेत्रका लागि चम्किलो बन्ने संकेत देखिएको छ । ३ बर्ष अघि बाबुको पदचाप पछ्याउदै जापान प्रवेश गरेका अविरल घिमिरेले जापानमा मच्चाउन थालेको तहल्काले उनलाई ‘हिमाली चितुवा’ नामले समेत सम्बोधन गरिन थालिएको छ ।

अविरल नेपाली फुलकन्ट्याक्ट कराते अर्थात क्योकुसिन करातेका चर्चित खेलाडी देव घिमिरेका पुत्र हुन् । देवले नेपालमा रहेर फुलकन्ट्याक्ट कराते मार्फत देशलाई जति गुन लगाए , उनको पुत्र अविरल पनि त्यही बाटोमा लम्किएका छन् ।

विगत ३ बर्षदेखि आफ्ना पिता देवसंगै जापानमा रहेर अहोरात्र मेहनत गरिरहेका अविलरले मेहनत गरे अनुसारको नै परिणाम पनि दिन थालेका छन् । उनले हालसम्म ‘किक बक्सिङ’मा ११ वटा भिडन्त भिडिसकेका छन् । जस्मा एउटामा मात्र उनले हार स्वीकार्नु पर्दा ९ भिडन्तमा विजय हात पारेका छन् ।

आफ्नो पहिलो भिडन्तमा नै ब्राजिलका खेलाडीसंग भिडेका अविरलले पछिल्लो पटक गत साता दक्षिण कोरियाका व्यवसायिक खेलाडी जुंग ओ जिमको चुनौतीलाई सहजै पन्छाएका छन् । ब्राजिलका खेलाडीसंग उनको भिडन्त एमेच्योर खेलाडीकोरुपमा रहेको थियो ।

दुई दर्जन बढी व्यवसायिक भिडन्तमा सफलता हात पारिसकेका जिमलाई अविरलले नकआउट गरेर नेपाली झण्डा फहराउन सफल भएका थिए । ‘अभ्यासमा कठोर बनाएको छु , मेरो झै छोराको लक्ष्य पनि देशको नाम खेलकुद मार्फत चम्काउने भन्ने नै हो , न्यूज २४ नेपाल डट टिभीसंग जापानबाट कुरा गर्दै आफ्नो पुत्रको प्रशिक्षक पनि रहेका देवले भने ‘ जहाँ पुगे पनि जहाँ रहे पनि मन त सधै नेपाली हो । ’

देवले आफुले खेलेर देशलाई जति दिन सके आफ्नो छोराले त्यो भन्दा बढी देओस भन्ने चाहना राखेको पनि सुनाए । अहिले सपरिवार जापानमा बस्दै आएका देव स्वयम पनि अझै करातेमा उच्चस्तरीय ज्ञान हासिल गर्न तल्लीन छन् ।

देवले जापानमा सञ्चालन गर्दै आएको सिमुरा डोजोमा उनका छोरा अविरलले निरन्तर प्रशिक्षण लिदै आएका छन् । जहाँ अन्य सयौं जापानी नागरिकहरुले पनि प्रशिक्षण लिदै आएका छन् । ‘अहिलेसम्म ६ वटा प्रोफेसनल भिडन्तमा भिडिसकेको छ , जस्मा पाँचमा जित र एकमा हारको लेखाजोखा छ , जस्मा ४ वटा नकआउटको आधारमा जित हात पारेको छ, यो रेकर्ड कुनै पनि प्रोफेसनल बक्सरको क्यारियरमा राम्रो हो ’ छोरा अविरलप्रति गर्व गर्दै देवले न्यूज २४ नेपाल डट टिभीलाई बताए ।

गत साता कोरियाका चर्चित किक बक्सर जिमसंगको भिडन्त हेर्न ठूलो संख्यामा नेपाली मात्र नभई जापानी नागरिकहरु पनि नागोया शहरस्थित नागोया कँग्रेस सेन्टरमा पुगेका थिए । नेपाली मात्र नभइ जापानीहरुको पनि अपार साथ पाएका अविरलले अन्तत उनीहरुलाई निराश बनाएनन । जिममाथि निरन्तर हावी हुँदै अविरलले गर्विलो जित हात पारेका थिए ।

विरलले हालसम्मको ११ भिडन्तमा केही जापानी खेलाडीहरुलाई समेत शिकार बनाइसकेका छन् । आफ्नो लक्ष्य विश्वकै चर्चित किक बक्सर बन्ने रहेको बताउने अविरलले नेपालको नाम चम्काएर छाड्ने अठोट पनि लिएका छन् ।

जहाँ पुगे पनि नेपाली राष्ट्रिय झण्डाको शानलाई झनै उचो बनाउने सोंच बोकेका अविरल विहान साँझ गरेर नियमित ६ घण्टा भन्दा बढी अभ्यास गर्दै आएका छन् ।

सफलताको श्रेय आफ्नो गुरु एवं पिता देव र परिवारका सदस्य एवं जापानमा रहेका नेपालीहरुलाई दिन चाहने अविरलले हरेक जितपछि पहिला देशको नै नाम उच्चारण गर्ने गरेको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्