भारतीय वनरक्षकलाई अवैध पैसा बुझाउन बाध्य

  • दीपक उपाध्याय

कैलाली । कैलालीको सीमावर्ती नेपाली गाउँ शिवरत्नपुरका स्थानीय गौचरन र दाउरा संकलनका लागि भारतीय भूमिमा निर्भर हुनुपर्ने बाध्यता छ । नजिक सामुदायिक वन नरहेकाले यस्तो बाध्यता परेको हो । तर, भारतीय जंगल प्रयोग गरेबापत शिवरत्नपुरबासीले बर्षेनी भारतीय वनकर्मीलाई हरेक घरबाट तीन सय रुपैयाँसम्म शुल्क तिर्नु पर्छ ।

कैलालीको सीमावर्ती गाउँ शिवरत्नपुरका स्थानीय गौचरन र दाउरा संकलनका लागि भारततको दुधुवा नेशनल पार्कको जंगल प्रयोग गर्छन । नेपालतर्फ नभएका कारण भारतको जंगल प्रयोग गर्नुपर्ने बाध्यता रहेको हो । तर, दुधुवा नेशनल पार्क प्रवेश गर्नकै लागि भारतीय वनकर्मीले वर्षेनी अवैध असुली गर्छन । शुल्क नतिरे जानै पाइँदैन । छेउछाउ पुगे पनि भारतीय वन रक्षकले नियन्त्रणमा लिन्छन् ।

शिवरत्नपुर र गोबरैला गाउँबासीसहित कैलारी गाउँपालिका दर्जन बढी बस्तीका स्थानीयले भारतीय वनकर्मीलाई अवैध शुल्क तिर्नु पर्छ । भारतीय वन रक्षकले यसवर्ष गाउँ–गाउँबाट प्रति घरधुरी तीन सय रुपैयाँका दरले अवैध असुली गरेका छन् । सीमावर्ती क्षेत्रमा रहेको मोहनपुर, निमुवाबोझी, शिवरत्नपुर, विशनपुर, पलिया, मोहनपुर, रतनपुर, भुईयाँफाँटा लगायतदर्जन बढी गाउँवासीले विभिन्न बहानामा भारतीय वनकर्मीलाई पैसा तिर्दै आएका छन् ।

हरेक वर्ष पैसा मात्र होइन सिजनअनुसार प्रत्येक घरबाट मसुरो, धान, गहुँसमेत उठाएर भारतीय वन रक्षकलाई बुझाउनु पर्छ । दुधुवा नेशनलपार्कभित्र हुने निर्माणमा स्थानीयलाई वर्षमा १०÷१५दिन श्रमदान गर्न पनि बाध्य पारिन्छ । भारतीय वनरक्षक गाउँ–गाउँमा ट्रयाक्टर लिएर मान्छे लिन आउँछन् ।

शिवरत्नपुर गाउँँमा ७४ घरधुरी छ । नजिक चरिचरन र सामुदायिक वन नरहेकाले यस गाउँका स्थानीय भारतीय भूमि प्रयोग गर्छन । तर, त्यसका लागि भारतीय वन रक्षकको ज्यादती खेप्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्