दूध, अण्डा, कुखुरा, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भयौः मन्त्री चक्रपाणि खनाल

काठमाडौं, २१ फागुन । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले नेपाललाई कृषि तथा पशुपंक्षीमा आत्मनिर्भर बनाउने गरि काम भैरहेको स्पष्ट पार्नु भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्री खनालले भन्नुभयो,‘अहिलेपनि हामी धेरै कुरामा आत्मनिर्भर भइसकेका छौं । अरु कुरामा पनि आत्मनिर्भर हुने गरि काम गरिरहेका छौं । अहिले दूध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भएका छौं ।’

मन्त्री खनालले खसी–बोकामा केही वर्षभित्र आत्मनिर्भर हुने दाबी गर्नु भयो । त्यस्तै, उहाँले फलफुलमा नेपाललाई आगामी ५÷६ वर्षभित्र आत्मनिर्भर बनाउने घोषणा पनि गर्नुभयो ।

कृषिमा सरकारले दिँदै आएको अनुदानलाई थप व्यवस्थित गर्नको लागि अध्ययन गर्न कार्यदल बनाएर काम भैरहेको पनि मन्त्री खनालले जानकारी दिनुभयो । उहाँले अगाडि थप्नु भयो ‘कृषिमा दिईएका अनुदानहरुलाई व्यवस्थित् गर्नुपर्छ । अनुदानमा केहीमा हामीले पुनरावलोकन गर्नुपर्छ । केहीमा अनुदान बढाउनुपर्छ ।

आन्तरिकमात्रै नभइ वैदेशिक अनुदानलाई पनि चुस्त दुरुस्त बनाउनको लागि हामीले पहल गरेका छौं ।’
मन्त्री खनालले कर्णाली प्रदेशमा प्राङगारिक कृषि प्रणाली (अर्गानिक एग्रिकल्चर फाम) को केन्द्र बनाउने गरि स्थान चयन गरिसकेको जानकारी पनि दिनुभयो । त्यस्तै, आधुनिक कृषि प्रणालीको लागि उदयपुरको बेलका नगरपालिकामा मोडल फाम बनाउने तयारी गरिसकिएको पनि उहाँको भनाइ छ ।

आगामी बजेटमा तीन मुख्य कार्यक्रम र १७ योजनाहरु अघि बढाउने पनि उहाँले जानकारी दिनुभयो । खनालले भन्नुभयो,‘ती कार्यक्रमहरु गेम चेन्जर योजना हुन् । आगामी ५ वर्षभित्र कृषिमा हामी आत्मनिर्भर हुन्छौं ।’ त्यस्तै उहाँले किसानलाई परिचयपत्र वर्गीकरण गरेर वितरण गर्ने, सोईल हेल्थ कार्ड वितरण गर्ने र किसान कल्याण परिचयपत्र पनि वितरण गर्ने पनि जनाउनु भयो ।

मन्त्री खनालले किसानलाई सहुलियतमा ऋण दिनेगरि आफूले व्यवस्था गरिसकेको जानकारी पनि दिनुभयो । त्यस्तै, ५ हजार युवाहरुलाई व्यवस्थित गर्नेगरि पूर्वदेखि पश्चिमसम्म एउटा रोष्टर तयार पार्ने पनि उहाँको योजना छ । युवाहरुले उत्पादन गरेका उत्पादनहरुको बजारीकरण गर्ने र यस कार्यक्रमलाई अघि बढाउनको लागि आगामी बजेटमा ५ सय करोड माग गरिएको पनि जानकारी पनि उहाँले दिनुभयो ।

विदेशबाट आयात हुने धुलो दूधमा प्रतिवन्ध लगाईएको मन्त्री खनालको भनाइ छ । उहाँले अगाडि थप्नुभयो,‘कैलाली र कञ्चनपुरमा फ्याक्ट्री छ, अब अर्को फ्याक्ट्र कोहलपुरमा खोल्छौं ।’ मन्त्री खनालले प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम प्रभावकारी नभएको भन्नेबारे आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच केही दिन पहिले छलफल तथा समीक्षा भएको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘कार्यक्रम जसरी प्रभावकारी हुनुपर्दथ्यो, त्यो नभएको हो । अब यसलाई पनि प्रभावकारी बनाउनुपर्छ ।’

अहिले सरकराले १४ वटा ‘सुपर–जोन’, ६९ वटा जोन, केही सय ब्लक र केही हजार पकेट निर्धारण गरेको सुनाउँदै उहाँले भन्नुभयो,‘यी मध्ये सुपर जोन र जोन अहिले केन्द्रले हेरिरहेको छ । ब्लक र पकेट भने प्रदेशलाई हस्तान्तरण गरिएको छ । यसलाई प्रभावकारी बनाउनको लागि सुपर जोन केन्द्रमा राख्ने, जोनलाई प्रदेशलाई दिने, बल्क र पकेटलाई स्थानीय सरकारलाई दिनुपर्छ ।’ अब कृषि क्षेत्रमा परिणाम दिनेगरि काम गर्ने पनि योजना पनि उहाँले सुनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्