भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति ग्वाइदो स्वदेश फर्किए

काठमाडौं । भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति जुवान ग्वाइदो स्वदेश फर्किएका छन् ।

अदालतले देश छाड्न लगाएको प्रतिवन्धलाई बेवास्ता गर्दै विदेश गएका उनी फर्किँदा पक्राउ पर्ने सम्भावना थियो । तर, त्यसलाई बेवास्ता गर्दै फर्किएका छन् ।

भेनेजुएलामा राजनीतिक र मानवीय सङ्कट चुलिएसँगै आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका उनी आदेश उल्लङ्घन गरेका कारण पक्राउ पर्नसक्ने जोखिममाझ देश फर्केका हुन्।

दश दिनअघि उनी सीमापार जम्मा भइरहेका मानवीय सहायता भित्र्याउन भन्दै देशबाट निस्केका थिए र कोलम्बियामा आयोजित क्षेत्रिय नेता एवं अमेरिकी उपराष्ट्रपति सहभागी एक बैठकमा समेत सामेल भए।

राजधानी कराकासस्थित साइमन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न अमेरिका र युरोपेली देशका कूटनीतिज्ञहरू पुगेका थिए।

ग्वाइदो फर्किएसँगै कराकासका सडकमा हजारौं उत्साही समर्थकहरूले उनको नाम र ‘हो हामी सक्छौ’ भन्दै नाराबाजी गरेका थिए।

मानिसहरूलाई ग्वाइदो देश फर्किनुले भन्दा पनि उनी फर्किएको शैलीले सबैभन्दा बढि प्रभावित पारेको देखिन्छ।

उनी मध्यरातमा कुनै कमजोर सीमाबाट लुसुक्क देश छिरेनन् बरु सिधै देशको प्रमुख विमानस्थलको अध्यागमनमार्फत् भित्रिए।

प्रतिक्रिया दिनुहोस्