पुष्पकमल दाहाललाई प्रकाशचन्द्र लोहनीको चुनौती– ‘पक्राउ त गरेर देखाउनुस्’

  • तारा आचार्य,

विराटनगर, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संविधान अनुसार हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाका लागि आन्दोलन गर्दा सरकारले पक्राउ गरे आफूहरु त्यसको लागि तयार रहेको बताउनु भएको छ ।

मंगलवार विराटनगरमा राप्रपा संयुक्तले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लोहनीले संविधान अनुसार नै संवैधानिक परिवर्तनका लागि आन्दोलन गरिने र यसलाई अराजकता फैलाउन खोजेको भनिए पक्राउ गरेर देखाउन चुनौती दिनुभयो ।

सोमवार विराटनगर मै सत्तारुढ पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा अराजकता फैलाउन खोज्नेलाई पहिले राजनीतिक त्यसपछि प्रशासनिक कारवाही गरिने चेतावनी दिनुभएको थियो । अध्यक्ष लोहनीले संविधानका केही बुँदामा असहमति भएपनि संघीयता कार्यान्वयन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा राप्रपा संयुक्तका अर्का अध्यक्ष पशुपति शम्शेर राणाले अहिले पार्टी सुदृढीकरण गर्न लागेको र बैशाख महिनादेखि पार्टीका मुद्दा स्थापनाका लागि सडक आन्दोलन गर्ने जानकारी दिनुभयो । उहाँले पार्टीको चुनाव चिन्ह हलोमा सहमति नभएकाले राप्रपासँग पार्टी एकीकरण रोकिएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्