राप्रपाको मेचीकाली अभियान हेटौडामा, राजमार्ग नै अवरुद्ध पारेर सभाको आयोजना

  • देवराज पन्त,

मकवानपुर, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत फागुन १५ गते देखि ताप्लेजुङ्गबाट शुरु गरेको मेचीकाली अभियान मकवानपुर आईपुगेको छ ।

मकवानपुर आईपुगेको अभियान कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाकाका केन्द्रीय अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा बर्तमान पार्टीहरुले लुटतन्त्र चलाइरहेको आरोप लगाउनु भएको छ । थापाले हालको सरकार भ्रष्ट्राचारलाई बढावा दिन अग्रसर रहेको जिकिर पनि गर्नुभयो । आफूलाई लोकतन्त्रवादी भन्ने पार्टीहरुको क्रियाकलापले जनतामा चरम निराशा छाएको पनि उहाँको भनाइ छ ।

कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र लिङ्देनले आफू लिम्बू भएपनि देशको पहिचानका लागि नेपाल हिन्दू राष्ट्र हुनु पर्ने पक्षमा आफु रहेको बताउनुभयो । जातजातिका संस्कार, धर्म, परम्परा भन्दा पहिले देशको पहिचान हुनु पर्ने उहाँको अडान रहेको थियो । पहिचान बाहेकको देश नरहने हुनाले विश्वकै एक मात्र हिन्दू राष्ट्रको पहिचान बोकेको नेपाललाई विभिन्न राजनीतिक दलहरु मिलेर पहिचान मासेको र देशलाई सिक्किमीकरण बनाउन लागि परेको लिङ्देनको आरोप छ ।

राप्रपाको सो अभियान आज नवलपरासीका लागि प्रस्थान गर्ने बताएको छ । अभियान कार्यक्रमलाई पूर्व गृहमन्त्री बुद्धिमान तामाङ्ग, दीपकबहादुर सिंह, जिल्ला अध्यक्ष मधु अधिकारी लगायतले सम्बोधन गरेका थिए । अभियानमा देशभक्ति गीतसंगीत सहित विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । मकवानपुर जिल्ला पार्टी अध्यक्ष कमल थापाको गृह जिल्ला पनि हो ।
यस्तै हेटौंडा स्थित राप्रपाले आज पूर्वपचिम राजमार्ग बन्द गरेर सीमा चौकमा अभियानको आमसभा सञ्चालन गरिएकोमा स्थानीय प्रशासन बेखबर रहन पुग्यो ।

राप्रपाले सो सभा गर्नका लागि जिल्ला प्रशासन कार्यालयसँग कुनै सहमति वा समन्वय नगरेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्गले बताउनु भयो । राजमार्ग नै बन्द गरेर आमसभा गरिएपछि सो सडक खण्ड भएर आवत जावत गर्ने सयौं सवारीलाई ट्राफिक प्रहरीले बैकल्पिक सडकबाट सवारी जाने व्यवस्था गरेको थियो भने सभा अवधिभर हेटौंडा बजारमा केहीबेरका लागि सवारी जाम भएको थियो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयलाई बुद्धचोक र सीमा चोकको बीच भागमा रहेको पश्चिम तर्फको स्थानमा सभा गर्ने जानकारी दिईएको भएपनि सभा गर्ने बेला स्थान परिवर्तन गरी सडकमै कार्यक्रम गरेको मकवानपुर प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताउनुभयो ।

अकस्मात स्थान परिवर्तन गर्दै सयौं कार्यकर्ता तथा सहभागीहरु सहितको कार्यक्रमलाई विथोलिने र विवाद हुने सम्भावना भएकाले बाध्य भएर शान्ति सुरक्षाका लागि भएपनि पनि आफूहरुले कडा कदम चाल्न नसकेको र सवारी व्यवस्थापन गरिएको प्रहरी प्रमुख सिंहको भनाइ छ ।

पछिल्लो समय विभिन्न राजनीतिक दलहरुले शक्ति प्रदर्शन गर्ने होडबाजीमा सार्वजनिक सडक नै बन्द गरेर आमसभा, विरोध प्रदर्शन लगायतका कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्