चितवन मालपोतका हाकिम मूलगेटमा नै बसेर विचौलिया लखेट्दै

  • प्रकाश सिग्देल,

चितवन, २१ फागुन । चितवनको कालिका नगरपालिका पदमपुर क्षेत्रमा बिचौलियाले रातो पूर्जा निकालिदिने भन्दै किसानसंग पैसाको चलखेल गर्ने गरेका छन् ।

जिल्ला मालपोत कार्यालय भरतपुर चितवनले सेतो पूर्जा भएकाहरुका लागि रातो पूर्जा बितरण गर्न अध्यावधिक गर्ने काम सुरु गरेपछि बिचौलियाहरुले रातो पूर्जा निकाल्दा मालपोतका हाकिम र कर्मचारीलाई पैसा खुवाउनु पर्ने भन्दै स्थानीयसंग पैसा माग्ने गरेको उजुरी स्वयं मालपोत कार्यालयमै परेको छ ।

स्थानीय सोझा थारु समुदाय र आदिवासी समुदायलाई त्यहाँका केही बिचौलियाले आर्थिक अवस्था हेरेर १० हजार देखि दुई लाख सम्म माग्ने गरेको गुनासो आफु कहाँ आइपुगेको मालपोत कार्यालयका प्रमुख लाल कृष्ण शर्मा पौडेलले बताउनु भयो । ‘हाकिमलाई पनि पैसा खुवाउनु पर्छ पैसा नदिए रातो पूर्जा दिदैनन्’ भन्दै जग्गा प्लटिंगमा सक्रिय एक दुई व्यक्तिहरुले स्थानीयलाई तर्साउदै पैसा मागेको गुनासो आफुकहाँ आइपुगेको पौडेलले बताउनु भयो ।

स्थानीयको गुनासोका आधारमा आफै फिल्डमा पुगेर जनप्रतिनिधि राखी यस्ता गलत काम गर्नेलाई समातेर प्रहरीकोमा बुझाउन भनेको र जग्गा धनीलाई पनि बिचौलियाको पछाडि नलाग्न आग्रह गरेको पौडेलको भनाइ छ । कार्यालयले बिगतमा चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरबाट स्थानान्तरण भई पदमपुरमा बसेका सेता पूर्जा पाएकाहरुको अध्यावधिक गरी रातो पूर्जा दिन सुरु गरेको छ ।

सुकुम्बासीलाई जग्गा प्रदान गर्ने बेलामा केही अवधि तोकेर शर्तनामा गरि जग्गा बितरण गरेको र अहिले शर्त अवधि सकिएपछि अध्यावधिक गरी रातो पूर्जा दिन सुरु गरिएको मालपोत कार्यालय चितवनका प्रमुख पौडेलले बताउनु भयो ।

जग्गा धनीसँग केही बिचौलियाहरुले आर्थिक संकलन गरी ठग्ने काम गरेकोले सूचनाका आधारमा कार्यालयले बिचौलियाको निगरानी राखेको र शंकास्पद केही देखा परे तत्कालै कार्यकक्षमा ल्याएर सोध खोज गर्ने गरेको शर्मा बताउनु हुन्छ ।

मालपोतमा कुनै अतिरिक्त शुल्क नलाग्ने र २ सय रुपैयाँमा नै रातो पूर्जा पाईने भएकाले बिचौलियाको पछाडि नलाग्न कार्यालय प्रमुख पौडेलले आग्रह गर्नुभयो ।

ऋाफूले कार्यालयको हरेक काम कारवाहीलाई प्रभावकारी बनाउन कडा निर्देशन दिएको र सेवाग्राहीको काम छिटो भन्दा छिटो सक्ने गरी काम गर्न हरेक कर्मचारीलाई सक्रिय बनाएको शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्