भारी हिमपात र चिसोले मुस्ताङमा ६० भन्दा बढी चौरी (याक) को ज्यान लियो

  • सुशीलबाबु थकाली,

मुस्ताङ, २१ फागुन । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका अन्तर्गत छोनुप गाउँको लेकमा अवस्थित चौरी व्यवसायीहरुको करिब ६० भन्दा बढी चौरी मरेको छ । लोमान्थाङ र दालोमे गाउँपालिकाका अन्तर्गतको चौरी चरनमा रहेको ३ जना चौरी व्यवसायीहरुको चौरी मरेको हो ।

अति बिकट र जनसम्पर्कबाट टाढा रहेको कारण पनि उद्दार कार्यमा समस्या भैरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र बहादुर खड्काका अनुसार थप विवरण आउन अझै केहि दिन लाग्ने छ । लोमन्थाङ प्रहरी चौकीले पशु चौपाया हिउँमा पुरिएर मरेको हुन सक्ने भनिए पनि पूर्ण विवरण आउन केही दिन लाग्ने खड्काको भनाइ रहेको छ ।

लोमान्थाङ गाउँ पालिका अन्तर्गतको छोनुप गाउँको लेकमा अवस्थित सोनाम गुरुङ , कुङ्गा गुरुङ र वाङ्दी गुरुङको गरि करिब ६० ओटा भन्दा बढी चौरी मरेको स्थानीय पेमा गुरुङले जानकारी दिनुभयो । ‘हिजोसम्म मात्र करिब ६० भन्दा बढी चौरी मरेको थियो, उहाँले भन्नुभयो ‘अहिले तीनै जना चौरी व्यवसायीहरु लेकमै छन् । उनीहरूले बाचेकाहरुलाइ स्याहार गर्दैछन्। यता परिवार भने उनीहरू नआएकोमा चिन्ता गरेका छन् ।’

स्थानीय सुरक्षा निकाय र जनप्रतिनिधिहरु यस विषयमा भने मौन बस्दा दुःख लागेको पनि उहाँको गुनासो छ । लामो समय भैसक्दा पनि सञ्चार माध्यम र सम्बन्धित सरोकारवाला निकायहरूको त्यतातर्फ ध्यानाकर्षण नभएको उहाँको भनाइ छ ।

अहिले हिमाली लेकमा पाइने चौरीको मूल्य करिब ७० देखि ९० हजारसम्म पर्छ भने याकको करिब १ लाख देखि १ लाख २० हजारसम्म पर्छ । त्यसैले तीन जना चौरी व्यवसायीहरुको करिब ५० देखि ६० लाख भन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ । पूर्ण विवरण आउन केहि दिन लाग्ने भए पनि सम्बन्धित सरोकारवाला निकायले यसतर्फ चाडैनै ध्यान दिन सके पीडितहरुलाइ केहि राहत हुने देखिएको पनि पेमाले बताउनुभयो । अहिलेसम्म त पीडितहरुले राहतको अपेक्षा गरेका छैनन् तर सरोकारवाला निकायले उद्दार मात्र गरिदिए पीडितहरुले राहतको महसुस गर्ने पनि उहाँको कथन छ ।

उपल्लो मुस्तामा मात्र नभै तल्लो क्षेत्रहरुमा पनि चौरी व्यवसायीहरुलाइ निक्कैनै धक्का पुगेको छ । मुस्ताङको थासाङ गाउपालिका अन्तरगतको मुली, ह्याङ्देन, मार्चे, अन्नपूर्ण बेसक्यामको मुस्ताङ क्षेत्र, बतासे (धौलागिरी बेसक्याम) क्षेत्रहरुमा पनि चौरी मर्नेको क्रम जारी रहेको बताइएको छ । मार्चे चौरी समुहका अध्यक्ष राजेन्द्र शेरचनका अनुसार हालसम्म २० भन्दा बढी चौरीहरु मरिसकेका छन् ।

‘लामो समयसम्म हिमपात भएको कारण चौरीहरु मरेको हो’ शेरचनले बताउनुभयो ‘लामो समयसम्म घास, पानी खान पाएन भने चौरिहरु बाच्न सक्दैनन, औसत मात्रामा केहि बाचे पनि मर्ने सम्भावना धेरै हुन्छ । लगातार रुपमा हिमपात भएको कारण पनि चौरीलाइ बाच्न सकस भएको हो ।’

केहि दिन अघि आएको हिमपहिरोका कारण पनि चौरीहरु मरेको शेरचनको भनाइ छ । कमजोर र भर्खरैको बच्चाहरूलाई सबैभन्दा बढी समस्या हुने गरेको छ । तन्दुरुस्त याक भने करिब एक महिनासम्म पनि केहि नखाइ बाच्न सक्छन् । बाक्लो हिउँ भएको ठाउँमा घास नपाइने र पानीको सट्टा हिउँ खाइ गुजारा गर्नुपर्ने चौरीको बाध्यता हो । यसरी लामो समयसम्म हिउँ पग्लिएन भने मात्र चौरीहरु मर्ने सम्भावना बढी हुन्छ । यति मात्र नभइ लेकमा रहेका अन्य भेडा बाख्रा र गाइ गोरुहरुलाइ समेत बाच्न सकस हुने मार्चे चौरी समुहका अध्यक्ष राजेन्द्र शेरचनले बताउनुभयो ।

यस बर्ष मुस्ताङमा सबैभन्दा बढी र बाक्लो हिमपात भयो । फलस्वरूप हिमाली लेकमा रहेका चौरी लगायत अन्य पशु चौपायाहरुलाइ बाच्न समस्या भएको हो । मुस्ताङवासीको आम्दानीको श्रोत मध्य चौरी, भेडा र बाख्रा पनि एक हो । मुस्ताङमा उत्पादित लोकल बस्तुहरु सँगसँगै यिनीहरूले मुस्ताङीको जीवन उकास्न टेवा पुर्याएको मार्छे चौरी समुहका सचिब रमेश मगरले बताउनुभयो । अझै भन्नुपर्दा बर्खामा काटेर सुकाएका घास चौरीका लागि हिउँदमा काम लाग्छ । सबैभन्दा पोषिलो घास भनेको ढिम्सी घास हो । तर यस बर्ष लगातार हिमपात हुँदा बर्खामा जोहो गरेर राखेको घास पनि सकियो । अब जीवित गाइबस्तुलाइ समेत के खुवाउने भन्नेमा चिन्ता लागेको मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्