सरकारद्वारा चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा, ६ महिनामा २८ प्रतिशत मात्रै बजेट खर्च

काठमाडौं । सरकारले उच्च आर्थिक बृद्धिका लागि आधारशिला तयार भइरहेको दावी गरेको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले कृषि उत्पादनमा भएको वृद्धि, उद्योगको क्षमता विस्तार, पर्यटकको आगमन, ऊर्जा आपूर्तिमा भएको सुधार, विप्रेषण आप्रवाह, राजस्व असुली र पूँजीगत खर्च वृद्धिजस्ता अर्थतन्त्रका सूचक सन्तोषजनक देखिएको भन्दै उच्च आर्थिक बृद्धिका लागि आधारशिला तयार भइरहेको दावी गरेको हो ।

सरकारले ६ महिनामा ३५ प्रतिशतको लक्ष्य लिएपनि बजेट खर्च भने २८ प्रतिशत मात्रै गरेको छ । स्थायी सरकार र काम गर्ने सहज वातावरण भएपनि लक्ष्यअनुसार बजेट खर्च नभएको हो । अहिलेको नतिजा निराशाजनक रहे पनि आर्थिक वर्षको अन्त्यसम्म ९१ दशमलब २ प्रतिशत बजेट खर्च हुने अर्थमन्त्रीको दावी गरेको छ ।

चालु आर्थिक वर्षमा ११ खर्ब ९९ अर्ब १५ करोड खर्च हुने अनुमान छ । जुन कुल विनियोजित बजेटकोे ९१ दशमलव २ प्रतिशत हो । सरकारले चालु आर्थिक बर्षका लागि १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरेको थियो । चालुतर्फ ७ खर्ब ९८ अर्ब ४४ करोड, पूँजीगततर्फ २ खर्ब ६५ अर्ब २६ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ३५ अर्ब ४४ करोड (८७ प्रतिशत) खर्च हुने अनुमान छ ।

बजेटको मध्यावधि समीक्षा अवधिमा पूँजीगततर्फको खर्च ५५ अर्ब ५२ करोड रुपैयाँ भएको छ भने संघतर्फको राजस्व संकलन ४ खर्ब २ अर्ब ४५ करोड भएको छ । जुन अघिल्लो बर्षको तुलनामा २६ दशमलव १ प्रतिशतले वृद्धि हो ।

प्रतिक्रिया दिनुहोस्