कमिशन दोब्बर बढाउन माग गर्दै एलपी ग्यास उद्योगी

काठमाडौं । खाना पकाउने ग्यास उद्योगीहरु कमिसन दोब्बर बनाउनुपर्ने सहितका १० बुँदे माग तेर्साउँदै विरोधमा उत्रिएका छन् । उनीहरुले विरोध स्वरुप ग्यासको कृत्रिम अभाव समेत सृजना गरेका छन् । नेपाल आयल निगम अहिलेको कमिसन पर्याप्त भएकाले बढाउन नसकिने ‘मुड’मा छ । अन्य मागका विषयमा निगम सकारात्मक बनेको छ ।

हाल ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ रहेको छ । यसमध्येबाट उद्योगीले प्रतिसिलिण्डर २ सय ३२ रुपैयाँ भाडा र कमिस वापतको रकम पाउँछन् । बरौनी बाट काठमाडौं सम्म ढुवानी वापत ८७ रुपैयाँ, ग्याँस भर्दा घाटा रकम १ रुपैयाँ ४५ पैसा, उद्योगीको प्रशासन खर्च ५२ रुपैयाँ ५४ पैसा, प्लान्टबाट विक्रेतासम्म स्थानीय ढुवानी भाडा २९ रुपैयाँ २ पैसा, व्यवसायी मुनाफा ३० रुपैयाँ ५५ पैसा, विक्रेतालाई कमिशन ३२ रुपैयाँ दिईंदै आएको छ । यही हिसावमा हाल उद्योगीले प्रतिसिलिण्डर २ प्रतिशत मुनाफा कमाउने गरेका छन् । तर, उद्योगीले दोब्बर बढी ५ प्रतिशत अर्थात ४ सय ३२ रुपैयाँ नाफा मागेका छन् ।

माग पुरा नभएपछि उद्योगीले शुक्रवारदेखि प्रोडक्स डेलिभरी अर्डर पिडिओ समेत लिन छाडेका छन् । उद्योगीहरुको दबदबामा विक्रेताले ग्यास लुकाउन थालेपछि बजारमा कृत्रिम अभाव सिर्जना भएको छ । पीडीओ खरिद नगरेपछि नेपाल आयल निगमले व्यवसायी नै संलग्न रही एक वार्ता समिति गठन गरेको छ । तर, उद्योगीहरु वार्ताका लागि तयार नदेखिएको निगमको भनाइ छ । हाल नेपालमा ग्याँस विक्रेता आवश्यकता भन्दा बढी छन् । नेपाल आयल निगमले उद्योगीका माग मध्ये कमिसन बाहेक पुरा गर्ने जनाएको छ ।

ग्यास बिक्रीमा अहिले निगमले प्रतिसिलिण्डर ८१ रुपैयाँ घाटा व्यहोर्दै आएको छ । ६ वर्षअघि मासिक १६÷१८ हजार टन ग्यास बिक्री हुन्थ्यो । अहिले यो परिमाण बढेर ४० हजार टन पुगेको छ । जसले व्यवासायीको कारोवार परिमाणमा समेत वृद्धि छ । उपभोक्तालाई मार नपर्नेगरी समस्याको समाधान खोजिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्