जातीय विभेद अन्त्यका लागि ६ महिने महाअभियान

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विगतमा भएको जातीय विभेद र छुवाछूतको कुरा सम्झेर वर्तमानमा अघि बढ्न नसक्ने बताउनुभएको छ ।

५४ अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको सन्दर्भमा मंगलबार ‘जातीय विभेद र छुवाछूत अन्त्यका लागि ६ महिने महाअभियान आत्मसम्मानको खोजी’ कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री पण्डितले सबै जातिलाई समान हकका साथ अघि बढाउन जनता आवास कार्यक्रम गरीब, दलित र पिछडिएका वर्ग सबैका लागि अघि बढाइएको जानकारी दिनुभयो ।

‘सबैलाई एकै साथ अघि बढाउन पहाडमा नयाँ परियोजनाको साथै बजेट ल्याउने काम भएको छ’, पण्डितले भन्नुभयो, ‘विभेद अन्त्यका लागि विभिन्न काम भइसकेका छन, तर पूर्ण रुपमा अन्त्य हुन केही समय लाग्छ ।’  उहाँले नेपालका सबै जातिसरह दलितलाई अघि बढाउन दलितको प्रतिनिधित्वका साथै उनीहरुका लागि बजेट विनियोजन भएको बताउनुभयो ।

 

 

सांसद अञ्जना विशङ्खेले निजामती कर्मचारीको विधेयकमा दलितको संख्या न्यून हुँदै गएकामा दुःख व्यक्त गर्नुभयो । यस्तै, सांसद लक्ष्मी परियारले आफूले विद्यार्थी जीवनमा अन्य साथीभन्दा छुट्टै मेचमा बसेर अध्ययन गर्नु परेको दुःखेसो व्यक्त गर्नुभयो ।

अर्का सांसद विमला विश्वकर्माले आफू २०५६ सालमा कक्षा ८ मा प्रथम हँदा दलित भएका कारण द्वितीय बनाएको गुनासो गर्नुभयो । दलित अधिकारकर्मी सरस्वती परियारले बैतडीमा अन्तरजाति विवाह गरेका जोडीले हालसम्म नागरिकता पाउन नसकेको बताउँदा प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले आर्थिक वर्ष २०७४\७५ मा नेपालभरबाट १८ र आर्थिक वर्ष २०७५\७६ मा १४ वटा दलितका मुद्दा परेको जानकारी दिनुभयो ।

समता फाउण्डेशनका अध्यक्ष प्रदीप परियारले कार्यक्रममा उपस्थित सबैलाई ‘म जातीय भेदभाव तथा छुवाछूत अन्त्य विरुद्धको संघर्षमा प्रतिबद्ध छु’ भन्ने शपथ गराउँदै दलितले आत्मसम्मान, दाबी र थप शक्तिलाई उजागर गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्